२०, पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)निकट प्रेस सेन्टर नेपालले युट्युबरहरुलाई संगठित गरेको छ । सेन्टरले शनिबार केन्द्रीय कार्यालय बबरमहलमा युट्युबरलाई संगठित गर्दै प्रदेश प्रतिष्ठान (अनलाइन टिभी पत्रकार) शाखा गठन गरेको हो ।
शाखाको अध्यक्षमा प्रेम पुन, उपाध्यक्षमा जनक मगर, कोषाध्यक्षमा प्रमोद परियार, सचिवमा लक्ष्मण रसाइली, सहसचिवमा सुमन श्रेष्ठ, सहसचिव (समावेशी)मा सुमन मोक्तान, सदस्यहरुमा सागर गिरी, पूर्णमान विश्वकर्मा, सुजन सुर्खेती, विश्वास थापा, सन्जय पोखरेल, देवराज भन्तना, सन्तोष पौडेल, ओमप्रकाश गिरी, अभि राई, निगम सुन्दास, ईश्वर थापा मगर, विक्रम शाही, सन्जिव कार्की र मेगेन्द्र सुवेदी सर्वसम्मत निर्वाचित भएका छन् ।
अधिवेशनको बन्दसत्रमा बोल्दै सेन्टरको केन्द्रीय अध्यक्ष विष्णु सापकोटा (जुगल)ले अनलाइन टिभी पत्रकार अबको भुइँ मान्छेहरुको मुद्दालाई उठाउने सशक्त माध्यम भएको बताए ।
‘अनलाइन टिभी पत्रकारहरुले आफूहरुलाई युट्युबर भन्न हिच्किचाउनु हुँदैन । जिम्मेवार भएर पत्रकारिता गर्नु पर्छ । कहिलेकहीँ कमजोरी हुन सक्छ । ती कमजोरीहरुलाई समीक्षा गरेर अगाडि बढ्नुहोस्’, उनले भने । उनले प्रेस सेन्टर अनलाइन टिभी पत्रकारहरुलाई सहज हुने गरी कानुन निर्माणमा जोड दिने बताए ।
त्यस्तै सेन्टरका उपाध्यक्ष बिदुर खड्काले निर्वाचित पदाधिकारीलाई जिम्मेवार पत्रकारिता गर्न निर्देशन दिए । उनले राज्यले न्यू मिडियालाई स्वीकार्न नसकेर अवरोध सिर्जना गरेको उल्लेख गरे ।
‘नयाँ प्रविधिलाई नियन्त्रण गर्ने राज्यको असफल प्रयास देखिन्छ । कुरा सिटिजन पत्रकारिताका भइरहेका छन् । तर, राज्यले अनलाइनलाई स्वीकार्न सकेको छैन । हामीले यसलाई प्रयोग गर्न पर्ने हो तर नेपालमा अवरोध गर्न खोजिएको छ’, उनले भने । उनले कानुन बनाएर नयाँ प्रविधिलाई सञ्चालन गर्नु पर्नेमा जोड दिए ।
त्यसैगरी सेन्टरका वरिष्ठ उपाध्यक्ष कमल गिरीले सोसियल मिडियाका कारण परम्परागत मिडिया संकटमा परेको उल्लेख गरे । ‘सोसियल मिडियाका कारण परम्परागत मिडिया संकटमा छन । चाहे अमेरिका होस् चाहे नेपालमा सोसियल मिडिया पावरफूल आर्मी हो’, उनले भने ।
त्यस्तै उपाध्यक्ष निर्मल ज्ञवालीले युट्युब निर्धाहरुको माध्यम भएको बताए । ‘निर्धाहरुको माध्यम हो युट्युब । युट्युबरहरुले कुनाकन्दाका पीडितहरुको कथा पस्किने गरेका छन् । त्यसैले युट्युबहरु संगठित हुनु वैज्ञानिक छ’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय